निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ : राजेन्द्र लिङदेन

15 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिक दलहरूले अवलम्बन गरेको ‘निषेधको राजनीति’ ले देशलाई अँध्यारो सुरुङतर्फ धकेलिरहेको बताउनुभएको छ।

काठमाडौंको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले वर्तमान राजनीतिक व्यवस्था र संविधानका कमजोरीमाथि समीक्षा गर्दै मुलुकलाई निकास दिन सबै पक्षलाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभयो।

 

पछिल्लो पाँच वर्षको राजनीतिक यात्राको समीक्षा गर्दै उहाँले आम नागरिकमा राजनीति र नेताप्रतिको वितृष्णा अझै कायम रहेको दाबी गर्नुभयो। समस्या राजनीतिक पात्रमा मात्रै नभई विद्यमान शासन व्यवस्था र संविधानका कमजोरीमा समेत रहेको उहाँको जिकिर थियो।

संविधानलाई अपरिवर्तनीय ग्रन्थका रूपमा लिन नहुने बताउँदै लिङदेनले समयअनुसार देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

‘पाँच वर्षपछि फेरि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आइपुग्दा पनि आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णामा अपेक्षित सुधार आएको छैन। देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ। त्यसैले समस्या व्यक्तिमा मात्र होइन, व्यवस्था र संविधानका कमजोरीमा पनि छन्।’

देश बिग्रिँदा कुनै एउटा दल मात्रै प्रभावित नहुने भन्दै उहाँले राजनीतिक दलहरूबीच संवाद, सहकार्य र राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने बताउनुभयो।

‘संविधान कुनै अपरिवर्तनीय ग्रन्थ होइन; समयअनुसार देखिएका कमजोरी सुधार्दै जानुपर्छ। त्यसैले निषेधको राजनीति छोडेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्छ,’ लिङदेनले भन्नुभयो, ‘अब कसैले नहार्ने र सिङ्गो देशले जित्ने राष्ट्रिय सहमति आवश्यक छ।’

उहाँले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२/६३ को समावेशी लोकतान्त्रिक परिवर्तन तथा नयाँ पुस्ताले उठाएका आकांक्षालाई संरक्षण गर्दै नयाँ राजनीतिक समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

निषेधको राजनीतिले मुलुकलाई बर्बादीको डिलमा पुर्‍याएको दाबी गर्दै लिङदेनले सबै राजनीतिक शक्तिलाई एउटै टेबलमा राखेर राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्नुभयो।

राजतन्त्र पक्षधरदेखि नयाँ पुस्तासम्मका सबै पक्षलाई संवादमा समेटेर मुलुकलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।