३८ घण्टापछि जंगलबाट बालिकाको सकुशल उद्धार, गोली हानेर आरोपी पक्राउ

16 Shares

रुपन्देही । रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी १० वर्षीया बालिकालाई प्रहरीले ३८ घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ। बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारु (विशाल) लाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

घरमा सुतिरहेकी बालिकालाई बुधबार राति अपहरण गरी जंगलमा लगेर लुकाइएको थियो। बालिकाको खोजीमा प्रहरी र स्थानीयवासी परिचालित भएका थिए। शुक्रबार साँझ कान्छी बजारस्थित जंगलमा अपहरणकारी निदाएको मौका छोपेर प्रहरीले बालिकाको उद्धार गरेको हो।

बालिकाको उद्धारपछि फरार रहेका आरोपितको खोजीमा प्रहरीले अभियान तीव्र पारेको थियो। अपहरणकारीले छाडेको मोबाइलका आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ।

खोजीका क्रममा गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले एक राउण्ड गोली चलाएको थियो। गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ। उनी अहिले प्रहरीको सुरक्षामा छिन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।