काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

20 Shares

 काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । शनिवार काँग्रेसको महाधिवेशनस्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिनुभएको हो ।

उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उहाँले बताउनुभयो । उहाँले उम्मेद्वारी दर्ता अगाडी विधान संशोधन गर्ने प्रश्ताव बन्दसत्रमा लैजाने र नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । उम्मेदवारी मनोनयनअघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याइने उहाँको भनाई छ । काँग्रेसले विधान संशोधन गरि केही पदाधिकारी थप गर्ने तयारी गरेको छ । विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्नसक्ने भएकाले उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्थाअनुसार निर्धारण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सोमवार २ बजेदेखि ६ बजेसम्म हामीले उम्मेदवारीको मनोनयन गर्ने समयतालिका मिलाएका छौँ र यो सकिसकेपछि मतदानको कार्यक्रम त्यसपछि हुने निर्वाचन आयोगले निर्धारण गर्नेछ । उम्मेदवारीको नामाङ्कन गर्ने समय भन्दा हामीले विधानको संशोधन गरिसक्छौँ । विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने कहाँ–कहाँ के–के सुधार गर्ने सर्वाधिकार हलले राख्छ । प्रस्ताव गर्ने केन्द्रीय समितिको अधिकार हो, प्रस्ताव केन्द्रीय समितिले राख्छ । त्यसको लागि महामन्त्रीजीको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ ।

त्यो संशोधन समितिले पेस गरेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गर्छ र त्यो अन्तिम रूप दिइसकेपछि हलमा हामीले त्यसलाई निर्णयार्थ प्रश्तुत गर्छौँ । टुङ्गिएको जुन संख्या हुन्छ, पदाधिकारीको संख्या । त्यसैको आधारमा मनोनयन दाखिल हुन्छ ।’ चालिसेकाअनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । उहाँले यो संख्या काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दाबी गर्नुभयो । मतदान राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी तीन स्थानमा हुनेछ ।

भूगोलका आधारमा प्रतिनिधिहरूलाई मतदान केन्द्र तोकिनेछ । मतदान भने ब्यालेटमार्फत हुने र मतगणना पार्टी कार्यालयमा गर्ने तयारी रहेको चालिसेले जानकारी दिनुभयो । महाविधेशनको मिति सर्दा विदेशी पाउन आउन सकेनन् महाधिवेशनको मिति परिवर्तन हुँदा काँग्रेसको महाधिवेशनमा विदेशी पाउना उपस्थित हुने नसक्ने भएका छन् । यसअघि १६ गते उद्घाटन गर्ने तय भएपनि महाधिवेशनको मिति परिवर्तन भएपछि विदेशी पाहुनाको निर्धारित कार्यक्रम प्रभावित भएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । उहाँकाअनुसार केही पाहुन भने आएर पनि फर्केका छन् भने केहीले शुभकामना सन्देश पठाएका छन् । महाधिवेशनमा सहभागी हुन विभिन्न देश तथा दलबाट सन्देश प्राप्त भएको र ती सन्देश उद्घाटन कार्यक्रममा वाचन गरिने उहाँले बताउनुभयो । काँग्रेसले महाधिवेशनपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीसमेत गरेको चालिसेले बताउनुभयो । वैचारिक समानता तथा अन्तर्राष्ट्रिय भाइचारामा विश्वास गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराएर सम्मेलन आयोजना गर्ने उहाँको भनाइ छ । नेपाल राजनीतिक दलहरु भने सबैलाई महाधिवेशनमा सहभागिताका लागी निमन्त्रण पठाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एकथरी पाहुना आएर पनि फर्किनुभयो । हाम्रो डेट १६ गतेको थियो। हामीले १८ गते सार्यौँ । यो हाम्रो परिस्थिति हो । तर अरूको परिस्थिति हाम्रो जस्तो नहुन सक्छ ।

उनीहरूको फिक्स डेट टाइम हुन्छ ।’ अझै देउवाबाट महाधिवेशन उद्घाटन गर्ने चाहना महाधिवेशन उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सभापति शेरबहादुर देउवाबाट गराउने इच्छा पार्टीले राखेको प्रवक्ता चालिसेले बताउनुभयो । काँग्रेसको परम्पराअनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापतिले गर्ने भएपनि यसपटक पूर्वसभापति देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । उक्त आग्रह स्वीकार गर्ने वा नगर्ने विषय देउवाको निर्णयमा निर्भर रहने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसको परम्परामा यो पार्टीको अधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गर्ने प्रचलन छ ।

यद्यपि यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्वसभापति निर्वर्तमान सभापति शेरबहादुर देउवाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसले धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ । किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गराऔँ भन्ने हाम्रो इच्छा हो । त्यो इच्छा अनुरोधको रूपमा छ । तर अनुरोधलाई के गर्ने भन्ने कुरा उहाँको त्यो व्यक्तिगत कुरा रह्यो । पार्टीको परम्परामा पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो ।’ महाधिवेशनलाई व्यवस्थित बनाउनको लागी हाल व्यवस्गापनको काम भईरहेको उहाँले बताउनुभयो ।

महाधिवेशनको व्यवस्थापनका क्रममा राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डमा पार्किङको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । साथै महाधिवेशनको बारेमा जानकारी दिन मिडिया सेन्टर स्थापना गरिएको उहाँको भनाई छ । मिडिया सेन्टरबाट दिनमा दूई पटक महाधिवेशनका बारेमा जानकारी गराइनेछ ।