चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो: सरकार

19 Shares

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षा प्रदान गर्न उद्धार गरेर सुरक्षित स्थानमा लगिएको स्पष्टीकरण दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबी गरेका हुन् ।

जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले समेत आफूहरूको भनाइ पुष्टि गरेको मन्त्री पोखरेलको दाबी छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर कार्यालयमा लगेको थियो । उनलाई आइतबार दिउँसो छाडिएको थियो ।

मन्त्री पोखरेलले जबराको सुरक्षामा प्रश्न उठेपछि उनलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको बताए ।

‘पूर्वप्रधानन्यायाधीशको बारेमा सबैतिरबाट प्रश्न आएको छ । उहाँलाई पक्राउ गरिएको होइन भन्ने कुरा स्पष्ट भइसकेको छ । पक्राउ गरिएको, नियन्त्रणमा लिइएको होइन । तपाईंहरूले देख्नुभएकै छ, उहाँको थप सुरक्षाका लागि परिवारबाट प्रहरी कार्यालयमा निवेदन पनि पठाउनुभएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लगिएको हो,’ उनले भने ।

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।