देशभरका कर्मचारी मिलन केन्द्रमा पठाइयो पाथीभराको टीका–प्रसाद

19 Shares

ताप्लेजुङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभराको टीका–प्रसाद पठाएको छ ।

पाथीभरा मन्दिरको दर्शनको निम्तोसहित देशभरका कर्मचारी मिलन केन्द्रमा टीका–प्रसाद पठाइएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए ।

उनका अनुसार पाथीभराको प्रवद्र्धनसँगै सबै जिल्लाका कर्मचारीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रसाद पठाइएको हो । पाथीभराको प्रसाद जिल्ला हुलाक कार्यालय ताप्लेजुङमार्फत सम्बन्धित जिल्लामा पठाइएको हो । हुलाक कार्यालयले सुरक्षित रूपमा सामग्री सम्बन्धित व्यक्तिसम्म पु¥याउने गरी ढुवानी सेवा सञ्चालन गर्दै आएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले यसअघि जिल्ला हुलाक कार्यालयसँग देश तथा विदेशमा पाथीभराको प्रसाद पठाउने गरी सम्झौता गरेको थियो । सोहीअनुसार हुलाकमार्फत पाथीभराको प्रसाद विभिन्न स्थानमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि प्रसाद निःशुल्क उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय पाथीभराको प्रसाद देश तथा विदेशमा पठाउने क्रमसमेत बढ्दै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनले पाथीभराप्रति गहिरो विश्वास राख्ने भक्तजनका लागि यसबाट सहजता भएको र मन्दिरको प्रचारप्रसारमा समेत मद्दत पुगेको बताए ।