सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई

22 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले विपद्पछिको अवस्था र मुलुकको गम्भीर संकटका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको हो ।

 

प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भई जवाफ दिन माग गर्नुभयो । सांसद राईले भदौ १० गतेको विपद्पछि एक महिना दुई दिन बितिसक्दा पनि प्रभावितहरूले न्याय पाउन नसकेको र सरकारले पर्याप्त चासो नदेखाएको बताउनुभयो ।

उहाँले उक्त विपद्मा परी ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको उपचारमा सरकारले गम्भीरता नदेखाएको उल्लेख गर्नुभयो । सरकारका पछिल्ला गतिविधिहरूलाई ‘केटाकेटी खेले जस्तो र लुकिछिपी’ शैलीको भन्दै सांसद राईले आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘घरी कसैलाई पक्रने र घरी छोड्ने जस्ता गतिविधिले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ । कम्तीमा यस्ता संवेदनशील विषयमा सरकारले सिरियसली काम गर्नुपर्छ ।’

उहाँले मुलुकमा बढ्दो भोकमरी र आर्थिक अभावका कारण नागरिकहरू आत्महत्या गर्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । यस्तो परिस्थितिमा सरकार र सदनप्रति जनताको आक्रोश बढ्दै गएको भन्दै उहाँले सचेत गराउनुभयो ।

आफूहरू प्रतिपक्षमा रहे पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उहाँले सरकारले जनताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।