जटिल मोडमा कांग्रेस विवाद

15 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवाद अब समानान्तर महाधिवेशनको दिशातर्फ अघि बढेको छ ।

पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशन अघि बढाइरहेका बेला इतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो । इतर पक्षले समानान्तर महाधिवेशनको तयारी थालेपछि कांग्रेसको विवाद नयाँ चरणमा प्रवेश गरेको हो । एक रिपोर्ट ।

यतिबेला कहीँ नभएको जात्रा मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्र देखिएको छ । पार्टीको १५ औं महाधिवेशनमा दुई पक्ष, दुईतिर देखिदा समस्या सिर्जना भएको छ ।

संस्थापन पक्षले धमाधम महाधिवेशनका गतिविधि अघि बढाइरहेका बेला इतर समूहले पनि त्यसको काउन्टरमा समानान्तर महाधिवेशन अघि बढाएको छ । यसले कांग्रेसभित्र गम्भीर राजनीतिक संकटको अवस्था सिर्जना गरेको छ । इतर समूहका केही प्रभावशाली र निर्णायक मानिएका नेताहरू एकाएक संस्थापन समूहमा जोडिन पुगेपछि यो पक्ष सांगठनिक रूपमा कमजोर र रक्षात्मक बनेको छ ।

मुख्य नेताहरूको कित्ता परिवर्तनले इतर समूहभित्र ठूलो धक्का लागेको छ । संस्थापन पक्षले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

त्यस अन्तर्गत वडादेखि क्षेत्रसम्मको अधिवेशन सकिएको छ । तर, पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको इतर समूहले भने संस्थापन समूहको महाधिवेशनलाई स्वीकार नगर्ने अडान लिएको छ । यो समूहले समानान्तर रुपमा १५औं महाधिवेशनको काम तीव्र रुपमा अघि बढाएको छ ।

यो समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उसले आफ्नै महाधिवेशन तयारी समिति, निर्वाचन समिति र सदस्यता व्यवस्थापन संयन्त्रसमेत अघि बढाएको छ ।