सोह्र श्राद्ध आजदेखि सुरु, पवित्र जलाशयमा श्रद्धालुको घुइँचो

20 Shares

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीसम्म चल्ने यस पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्दै कृतज्ञता प्रकट गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार पितृ पक्षका बेला दिवंगत पितृहरू पिण्ड र जलको आशमा मृत्युलोकमा आउने गर्छन् । दशैँ, दीपावली र छठजस्ता ठूला चाडपर्व मनाउनुअघि पितृलाई खुसी पार्नु र उनीहरूप्रति श्रद्धा अर्पण गर्नुलाई नेपाली समाजमा विशेष महत्वका साथ लिने गरिन्छ । विशेषगरी मिथिला संस्कृतिमा पितृ पक्षको विशेष महत्व रहेको छ ।

सोह्र श्राद्धको पहिलो दिन विशेषतः कुश, तिल, जौ र द्रव्य लिएर ऋषिमुनिहरूप्रति श्रद्धा प्रकट गर्दै ‘अगस्त्य तर्पण’ गर्ने परम्परा छ । यसका साथै दिवंगत पूर्वजहरूको मृत्यु भएको तिथिअनुसार बाँकी दिनमा श्राद्ध कर्म गरिन्छ ।

श्राद्ध कर्म गर्नाले पितृहरूको आत्माले शान्ति प्राप्त गर्ने र सन्तान पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ ।

सोह्र श्राद्धको अवसरमा जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीलगायत देशभरका विभिन्न पवित्र जलाशयमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ । जनकपुरको गंगासागर पोखरीमा तर्पण दिन आउने श्रद्धालुको संख्या उल्लेख्य हुने गरेको छ ।

शास्त्रमा उल्लेख भएअनुसार पितृहरूको सम्मानमा गरिने यस्ता कर्मबाट पितृहरूको आशीर्वाद प्राप्त हुने र जीवनमा आइपर्ने बाधा तथा अड्चन हट्ने जनविश्वास छ ।

पण्डितहरूका अनुसार यस समयमा पितृहरूको अनादर भएमा वा पितृ कर्म पूरा नभएमा पितृहरूको असन्तुष्टिका कारण विभिन्न समस्या आउन सक्ने धार्मिक मान्यता छ । त्यसैले वैदिक परम्परा र शास्त्रीय विधिअनुसार श्रद्धापूर्वक पितृ कर्म सम्पन्न गर्नु सोह्र श्राद्धको मुख्य उद्देश्य मानिन्छ ।