सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

20 Shares

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान १० बजे कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव मापन भएपछि २५ वटा ढोका खोलिएको थियो ।

दिउँसो १ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको खड्काले जानकारी दिए ।

उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

जलसतह निरन्तर बढिरहेको भन्दै सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझै बढिरहेको सूचना अधिकारी खड्काले बताए । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन् ।