अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

21 Shares

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ अर्थात् डढुवा रोगको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन्। खुर्सानी फल टिप्ने तथा पाक्ने समयमा रोगको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि कृषकले उत्पादन जोगाउन कठिनाइ भोगिरहेका छन्।

खुर्सानीमा डढुवा लाग्नुका साथै किरा पर्ने, पात कुप्रो पर्ने, जरा कुहिने र बोट सुक्ने जस्ता समस्या एकैपटक देखिन थालेपछि किसान थप समस्यामा परेका हुन्। विशेषगरी खुर्सानी पाकेर रातो हुने समयमा रोगको असर बढी देखिने गरेको कृषकको भनाइ छ।

भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठका अनुसार खुर्सानीको बोटमा ‘कोत्रे’ रोग देखिएको केही दिनमै त्यसले ठूलो क्षेत्र ओगट्ने गरेको छ। उनका अनुसार सुरुमा बोटको केही भागबाट देखिने रोग क्रमशः फैलिँदै गएर पूरै बोट सुक्ने र फल नष्ट हुने अवस्था आउने गरेको छ।

“खुर्सानीको आधा पाटो सुक्ने गरी कोत्रे रोग देखिएको छ,” श्रेष्ठले भने, “रोग सुरु भएको एक साताभित्रै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने अवस्था आउँछ।”

रातो खुर्सानी उत्पादन गर्न नपाउँदा किसानलाई दोहोरो क्षति

अकबरे खुर्सानी रातो बनाएर बिक्री गर्दा किसानले तुलनात्मक रूपमा राम्रो मूल्य पाउने गरेका छन्। तर यस वर्ष डढुवा रोगको प्रकोप बढेपछि खुर्सानीलाई बोटमै राखेर रातो बनाउन किसानलाई समस्या भएको छ।

खुर्सानी रातो भएर बोटमै पाक्न थालेपछि कोत्रे रोगले बढी आक्रमण गर्ने र फल कुहिएर झर्ने गरेको किसानको भनाइ छ। त्यसैले कतिपय कृषकले परिपक्व हुनुअघि नै हरियो खुर्सानी टिपेर बजार पठाउन थालेका छन्।

यसले किसानलाई तत्कालको उत्पादन बिक्री गर्न सहयोग गरे पनि रातो खुर्सानीबाट प्राप्त हुने अपेक्षित आम्दानी गुम्ने अवस्था सिर्जना भएको छ। वर्षभरि लगानी, श्रम र समय खर्च गरेर उत्पादन गरेको बाली बजारमा पठाउने बेलामा रोग लागेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।

स्थानीय कृषक सम्झना प्रधानका अनुसार डढुवा रोग अहिले खुर्सानी खेतीको प्रमुख समस्या बनेको छ। त्यससँगै किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने समस्या पनि देखिन थालेका छन्।

“खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” प्रधानले भनिन्, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पु¥याएको छ। खुर्सानी बारी नै सखाप पारेको अवस्था छ।”

एउटा बोटबाटै पूरै बारीमा फैलिने जोखिम

किसानका अनुसार खुर्सानीमा देखिएको रोग एउटा बोटमा सीमित नरही छोटो समयमै आसपासका अन्य बोटमा फैलिने गरेको छ। सङ्क्रमित बोट पहिचान गरी समयमै व्यवस्थापन गर्न नसक्दा रोगले पूरै बारी प्रभावित बनाउने गरेको उनीहरूको भनाइ छ।

रोग नियन्त्रणका लागि किसानले सङ्क्रमित तथा बिग्रिएका बोट उखालेर बारीबाट हटाउन थालेका छन्। केही किसानले रोग फैलिएका बोट नष्ट गर्ने, प्रभावित भाग हटाउने र बारी सरसफाइ गर्ने कामसमेत गरिरहेका छन्।

तर व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खुर्सानी खेती गरेका किसानका लागि प्रत्येक बोटको नियमित निरीक्षण र सङ्क्रमित बोट हटाउने काम सहज छैन। मौसममा हुने परिवर्तन र बारीमा बढेको आर्द्रताका कारण पनि रोग नियन्त्रणमा चुनौती थपिएको किसानको भनाइ छ।

नगदे बालीका रूपमा लोकप्रिय बन्दै अकबरे

भोजपुरमा पछिल्ला वर्षमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि जिल्लाका साना तथा मझौला किसान यसतर्फ आकर्षित हुँदै आएका छन्।

कम क्षेत्रफलमा समेत व्यावसायिक उत्पादन गर्न सकिने तथा स्थानीय बजारदेखि ठूला सहरसम्म माग रहेको कारण किसानले अकबरेलाई नगदे बालीका रूपमा अपनाउँदै आएका हुन्।

तर उत्पादन र बिक्रीको मुख्य समयमा रोगको प्रकोप देखिएपछि किसानले यस वर्ष अपेक्षित आम्दानी लिन नसक्ने चिन्ता व्यक्त गरेका छन्। विशेषगरी उत्पादनको अन्तिम चरणमा बोट सुक्ने र फल कुहिने समस्या बढेपछि किसानको लगानी नै जोखिममा परेको छ।

५४५ हेक्टरमा अकबरे खेती

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यस वर्ष जिल्लाभर करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ।

गत आर्थिक वर्षमा भोजपुरमा ५ हजार २३२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको थियो। उक्त उत्पादनबाट जिल्लामा करिब रु २३ करोड भित्रिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिए।

अकबरे खुर्सानीबाट जिल्लाका किसानले राम्रो आम्दानी लिन थालेपछि खेतीको क्षेत्रफल विस्तार हुँदै गएको केन्द्रको भनाइ छ। त्यसैले अहिले देखिएको रोगको प्रकोपले किसानको आम्दानीसँगै जिल्लाको समग्र खुर्सानी उत्पादनमा समेत असर पार्न सक्ने देखिएको छ।

किसानलाई स्थलमै प्राविधिक जानकारी

खुर्सानीमा देखिएको रोगको समस्या समाधान गर्न कृषि ज्ञान केन्द्रले प्रभावित क्षेत्रमा स्थलगत रूपमा प्राविधिक जानकारी तथा तालिम दिने काम गरिरहेको जनाएको छ।

केन्द्रका सूचना अधिकारी बरालका अनुसार मुख्य समस्या देखिएका क्षेत्रमा पुगेर किसानलाई रोग पहिचान, विषादीको प्रयोग, बाली व्यवस्थापन तथा रोगको थप सङ्क्रमण रोक्ने उपायबारे जानकारी दिइरहेको छ।

“पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढेको छ,” बरालले भने, “मुख्य समस्या देखिएका क्षेत्रमा स्थल तालिम सञ्चालन गर्नुका साथै विषादीको प्रयोग तथा अन्य रोकथामका उपायबारे किसानलाई जानकारी दिने काम भइरहेको छ।”

कृषि प्राविधिकले रोगको प्रकृति पहिचान गरेर मात्र उपयुक्त विषादी तथा व्यवस्थापन विधि अपनाउन किसानलाई सुझाव दिएका छन्। सङ्क्रमित बोट तथा फललाई स्वस्थ बोटबाट अलग राख्ने, बारी सफा राख्ने र रोग फैलन नदिने गरी कृषि व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिइएको छ।

भोजपुरका विभिन्न पालिकामा उत्पादन

भोजपुरका विभिन्न स्थानीय तहमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुँदै आएको छ। पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका लगायतका क्षेत्रमा यसको उत्पादन हुने गरेको छ।

यी क्षेत्रबाट उत्पादित अकबरे खुर्सानी स्थानीय बजारमा बिक्री हुनुका साथै धरान, विराटनगर, काठमाडौं लगायतका ठूला सहरमा समेत पठाउने गरिएको छ।

स्थानीय बजारमा मात्र निर्भर नरही बाहिरी जिल्लामा समेत बजार विस्तार भएपछि किसानले अकबरे खेतीलाई आयआर्जनको महत्वपूर्ण माध्यम बनाउँदै आएका छन्। तर रोगको प्रकोप नियन्त्रण हुन नसके उत्पादन घट्ने र बजारमा पठाउन योग्य खुर्सानीको मात्रा कम हुने जोखिम बढेको छ।

रोग नियन्त्रण तत्काल आवश्यक

किसानले अहिलेको मुख्य आवश्यकता रोगको समयमै पहिचान, प्रभावकारी उपचार र प्राविधिक सहयोग भएको बताएका छन्। बाली नष्ट भएपछि क्षतिपूर्ति खोज्नुभन्दा रोग फैलिनुअघि नै नियन्त्रणका उपाय प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

एकातर्फ अकबरे खुर्सानीको उत्पादन क्षेत्र विस्तार भइरहेको र अर्कोतर्फ उत्पादनको महत्वपूर्ण समयमा डढुवा रोगको प्रकोप बढेकाले किसानको लगानी संरक्षणका लागि कृषि प्राविधिकको नियमित निगरानी आवश्यक देखिएको छ।

किसानले रोग नियन्त्रणका लागि आवश्यक औषधि, प्राविधिक परामर्श तथा स्थलगत उपचारसम्बन्धी जानकारी समयमै उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

भोजपुरमा अकबरे खुर्सानी नगदे बालीका रूपमा स्थापित हुँदै गएको अवस्थामा अहिले देखिएको ‘कोत्रे’ रोग नियन्त्रण गर्न नसकिए त्यसको प्रत्यक्ष असर किसानको आम्दानीमा मात्र नभई जिल्लाको समग्र खुर्सानी उत्पादन र बजार आपूर्तिमा समेत पर्न सक्ने देखिएको छ।