काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले नेपालको निर्वाचन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र समावेशी बनाउनुपर्ने बताउनुभएको छ ।मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा बोल्दै सांसद अग्रवालले निर्वाचनमा प्रविधिको प्रयोगसँगै त्यसको सुरक्षा र दीर्घकालीन कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।उहाँले आधुनिक युगमा प्रविधि भित्र्याउनु आवश्यक भए पनि यसको विश्वसनीयता, सुरक्षा र प्रभावकारी व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । निर्वाचनलाई पेपरलेस बनाउँदा राज्यको खर्च घट्नुका साथै उम्मेदवार र मतदाताको आर्थिक भारसमेत कम हुने उहाँको भनाइ थियो ।सांसद अग्रवालले निर्वाचन प्रक्रियामा देखिने झन्झट, समय र खर्चका कारण धेरै नागरिक मतदानबाट टाढा रहेको उल्लेख गर्दै सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “प्रविधि भित्र्याउँदै गर्दा त्यो कति सुरक्षित छ र हामी त्यसलाई दीर्घकालीन रूपमा कसरी कार्यान्वयन गर्न सक्छौँ भन्ने मुख्य प्रश्न हो । मतदाताले भोग्नुपरेको सास्तीका कारण धेरै नागरिक मतदान प्रक्रियाबाट बाहिर छन् । त्यसैले सबैलाई समेटेर समावेशी रूपमा मतदान गराउनु र खर्च न्यूनिकरण गर्नु अहिलेको चुनौती हो ।”स्थानीय तथा प्रदेश तहमा प्रविधिको प्रभावकारी प्रयोगबारे जिज्ञासा राख्दै सांसद अग्रवालले नागरिकले निर्वाचन परिणामका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो मतदानको अधिकार प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया