निर्वाचनका बेला सुरक्षा निकाय सत्ताको प्रभावमा रहने गरेको सांसद खत्रीको आरोप

16 Shares

काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको प्रभावमा रहेर काम गर्ने गरेको गम्भीर आरोप लगाउनुभएको छ। मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा बोल्दै सांसद खत्रीले निर्वाचन आयोगको कार्यक्षमता, सुरक्षा निकायको तटस्थता र निर्वाचन सुधारका विषयमा प्रश्न उठाउनुभएको हो।सांसद खत्रीले निर्वाचनमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायहरू प्रायः सत्तापक्षको छायामा रहने गरेको अनुभव सुनाउँदै निर्वाचन आयोगले सुरक्षा निकायलाई आफ्नो मातहतमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नुको कारणबारे प्रस्तावित आयुक्तसँग जिज्ञासा राख्नुभयो।उहाँले निर्वाचन आयोगले अन्तिम समयमा गर्ने उम्मेदवारी खारेजी र त्यसपछि अदालतबाट उम्मेदवारले सफाइ पाउने अवस्थाले राज्यलाई आर्थिक भार थपिने बताउनुभयो। आयोगको कमजोरीका कारण निर्वाचन रद्द भएर पुनः निर्वाचन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी र खर्च व्यवस्थापनबारे पनि स्पष्ट योजना आवश्यक रहेको उहाँको भनाइ थियो।विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अघि सारेका पाँच वटा मोडेलमध्ये नेपालको सन्दर्भमा कुन मोडेल उपयुक्त र तत्काल कार्यान्वयन गर्न सकिने हो भन्ने विषयमा पनि सांसद खत्रीले स्पष्टता माग्नुभयो। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन सकिने सम्भावनाबारे उहाँले प्रश्न उठाउनुभयो।सुनुवाइका क्रममा उहाँले ‘नो भोट’ र ‘रिकल’ सम्बन्धी व्यवस्थाबारे पनि चासो राख्दै यसको सम्भावना र कार्यान्वयन पक्षबारे प्रस्तावित आयुक्तसँग धारणा माग्नुभयो।निर्वाचनमा हुने वास्तविक खर्च र कागजी विवरणबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै सांसद खत्रीले निर्वाचन खर्च घटाउने विषय व्यवहारमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो। निर्वाचनका लागि खोलिने छुट्टै बैंक खाताको प्रभावकारितामाथि प्रश्न उठाउँदै उहाँले चन्दा संकलन र खर्च विवरणलाई पारदर्शी बनाउन निर्वाचन आयोगले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो।