काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।बुधबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले संगठन विस्तार, पदाधिकारी मनोनयन, महाधिवेशनको समीक्षा तथा आगामी कार्यक्रमबारे निर्णय गर्ने कार्यसूची तय गरेको छ।महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकबाट केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुन सक्ने सम्भावना छ। तर, केन्द्रीय समितिले भने तत्काल पूर्णता नपाउने उनले बताए। एकता प्रक्रियाबाट आएका विभिन्न समूहलाई समेट्न थप गृहकार्य आवश्यक रहेकाले मनोनयन चरणबद्ध रूपमा अघि बढाइने उनको भनाइ छ।रास्वपाको संशोधित विधानअनुसार १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने ५१ केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छन्। विधानअनुसार पदाधिकारी बन्नुअघि सम्बन्धित व्यक्ति केन्द्रीय सदस्य हुन अनिवार्य छ।पार्टी स्रोतका अनुसार एकता प्रक्रियामा रहेका समूहबीच प्रतिनिधित्वको विषयमा छलफल जारी छ। बालेन्द्र शाह पक्षबाट नामावली आउन बाँकी रहेकाले मनोनयन प्रक्रिया केही ढिलो भएको बताइएको छ। भूगोल, समावेशिता र कार्यक्षमतालाई आधार बनाएर सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको स्रोतको दाबी छ।यसैबीच, एक उपसभापति पदमा गृहमन्त्री सुधन गुरुङको सम्भावना बलियो रहेको चर्चा छ। महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा हुने बताइएको छ भने प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो देखिएको छ। निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले भने सोही पदमा दोहोरिने इच्छा नराखेको स्रोतले जनाएको छ।रास्वपाले संगठनलाई थप समावेशी, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ नेतृत्व संरचनालाई चरणबद्ध रूपमा पूर्णता दिने तयारी गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया