काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो निर्देशन दिएका हुन् ।
स्थानीय सरकारले सम्पादन गर्नुपर्ने मुख्य कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पार्टीले विशेष मार्गनिर्देशन प्रदान गरेको जानकारी दिए ।
उनकाअनुसार स्थानीय तहले विपद् व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरी सोही बमोजिम अगाडि बढ्न आग्रह गरे ।
पार्टीको सांगठनिक सुदृढीकरण र सदस्यता वितरणको सन्दर्भमा चर्चा गर्दै सभापति थापाले नेपाली काँग्रेस मुलुककै सबैभन्दा ठुलो सामाजिक संस्थाको रूपमा रहेको उल्लेख गरे । पार्टीको यो विशाल सञ्जाललाई विपद् जोखिम न्यूनीकरण र सचेतनाका लागि परिचालन गरिने लक्ष्य राखिएको उनले बताए ।
९ लाख सदस्यलाई एकैसाथ सचेत र प्रशिक्षित बनाउन सके विपद् व्यवस्थापनको क्षेत्रमा ठुलो राष्ट्रिय योगदान पुग्ने सभापति थापाको भनाइ छ । सदस्यता सम्बन्धी बैठकका क्रममा उनले पार्टीको शक्तिलाई सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा केन्द्रित गरिने स्पष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया