एभरेस्ट टुरिजम अवार्ड २०२६ : पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व सम्मानित

137 Shares

काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पर्यटन, पर्वतारोहण, साहसिक खेल तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्दै राजधानीमा भव्य कार्यक्रम आयोजना गरिएको हो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको सफल आरोहण टोलीसँगै इतिहास रचेका पेर्टेम्बा शेर्पालाई विशेष सम्मान गरिएको हो । उनलाई पर्यटन क्षेत्रमा पुर्‍याएको दीर्घकालीन तथा ऐतिहासिक योगदानको कदरस्वरूप ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’सहित नगद ५१ हजार १ सय ५१ रुपैयाँ, दोसल्ला तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासको कदर गर्दै प्रतिष्ठित ‘पीस हिरो अवार्ड २०२६’ भारतीय राजनीतिज्ञ पप्पू यादव (राजेश रञ्जन) लाई प्रदान गरिएको थियो ।

त्यसैगरी एभरेस्ट टुरिजम सम्मानबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्याण्ड), बुद्धिनारायण श्रेष्ठ तथा पोर्चुगलका जोआओ गार्सिया रहेका छन् ।

‘साहसिक पर्यटन उत्कृष्टता अवार्ड (पर्वतारोहण)’ अन्तर्गत साउदी अरबका प्रिन्स फैसल अल साउद, रूसकी निकोल कोवाल्चुक, पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, बेलायतकी एड्रियाना ब्राउनली, अष्ट्रेलियाका जो हार्भे, किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा तथा प्याराग्लाइडिङ क्षेत्रका सानो बाबु सुनुवारलाई सम्मान गरिएको थियो ।

विश्व पर्वतारोहण क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै ‘ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड’ निर्मल पुर्जालाई प्रदान गरिएको छ । यस्तै ‘टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्ड’ अन्तर्गत डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, बेलायतका एण्ट मिडलटन, कलाकार अनमोल केसी, कविता नेपाली तथा नीलम पौडेल सम्मानित भएका छन् ।

यसैगरी स्लोभेनियाका पर्वतारोही भिक्टर ग्रोशेल्ज, रेस्क्यु पेम्बा फ्रेन्च शेर्पा, पोखरा अल्ट्रा लाइट, काठमाडौं वातावरण शिक्षा परियोजना, नेपाल पर्वतारोहण संघ (एनएमए), दवारिकाज होटल, रमेश सापकोटा (वेलनेस), रोषा टुर एण्ड ट्राभल्स, अशोक लामा (रेस्क्यु), मानशान्त घिमिरे (वन्यजन्तु), रामजीबहादुर श्रेष्ठ (स्पोर्ट्स), नारायण भण्डारी (पत्रकारिता) तथा द क्लिफ नेपाल (बञ्जी एक्सिलेन्स) लगायत विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले हिमाल संरक्षणको आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै विश्व समुदायलाई एकजुट भएर हिमाल संरक्षण अभियानमा लाग्न आग्रह गरे ।

“हामीले हिमाल बचाउनुपर्छ । यदि हिमाल जोगिएन भने पृथ्वीको अस्तित्व नै संकटमा पर्न सक्छ,” उनले भने, “त्यसैले हिमाल संरक्षणका लागि विश्व समुदाय एकजुट हुन आवश्यक छ ।”

उनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नेपालजस्ता हिमाली राष्ट्रलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीप्रति आभार व्यक्त गरिन् । उनले पर्यटन प्रवर्द्धन, साहसिक खेलकुद तथा हिमाल संरक्षणका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रमको मिडिया पार्टनर नेपाल नेटवर्क टेलिभिजन रहेको थियो ।