प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन र आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध रहेको दाबी

104 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरलाई वास्तविक र देखिने गरी उकास्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरू तथा काठमाडौंस्थित अन्य मित्रराष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचन परिणामले देशमा सुशासन, समावेशी आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि स्पष्ट जनादेश दिएको उल्लेख गरे ।

प्रधानमन्त्री शाहले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै नेपालको नीति निर्देशनलाई अझ स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने बताए । उनले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र राजनीतिक स्थिरता कायम राख्दै जनअपेक्षा अनुसार परिणाम दिने सरकारको प्राथमिकता रहेको दोहोर्‍याए ।

उनका अनुसार सरकारले देशलाई लगानीमैत्री बनाउने, प्रक्रियागत सुधार गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य राखेको छ । उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित, व्यावहारिक र परिपक्व विदेश नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै छिमेकी तथा विकास साझेदारहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा अघि बढाइने स्पष्ट पारे ।

भेटका क्रममा उनले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गर्दै शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघका राजदूत तथा अन्य मित्रराष्ट्रका प्रतिनिधिहरूले नेपालमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । उनीहरूले सुशासन, आर्थिक वृद्धि र समृद्धिको लक्ष्यमा नेपालसँग सहकार्य तथा लगानी विस्तार गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।