एनओसी र चिनियाँ ब्रान्ड पेलियटबीच सम्झौता, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय किट उपलब्ध गराइने

185 Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) र चिनियाँ स्पोर्ट्सवेयर ब्रान्ड पेलियटबीच नेपाली खेलाडीहरूका लागि खेलकुद सामग्री (किट) उपलब्ध गराउने सम्बन्धी औपचारिक सम्झौता भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एनओसी मुख्यालयमा मंगलबार आयोजित कार्यक्रममा पेलियटका उपाध्यक्ष झाओ ले र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार पेलियटले आगामी २०औँ एसियाली खेलकुद र सन् २०२८ मा अमेरिकामा हुने लस एन्जलस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा पदाधिकारीका लागि आधिकारिक किट आपूर्तिकर्ताको रूपमा पोशाक तथा खेल सामग्री उपलब्ध गराउनेछ ।

यसअघि पनि एसियन बीच गेम्समा पेलियटले नेपाली टोलीलाई सामग्री उपलब्ध गराएको थियो, जसलाई खेलाडीहरूले सकारात्मक रूपमा लिएका थिए ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले यो साझेदारीले नेपाली खेलाडीको मनोबल बढाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् भने पेलियटका उपाध्यक्ष झाओ लेले नेपालसँगको सहकार्यलाई आफ्नो ब्रान्डका लागि पनि महत्वपूर्ण अवसर भएको बताएका छन् ।