काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत किसानलाई दैनिक करिब १ करोड रुपैयाँ भुक्तानी भइरहेको बताउनुभएको छ ।
उहाँका अनुसार पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये हालसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। बाँकी रकम पनि चरणबद्ध रूपमा भुक्तानी गर्ने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
एक महिनाको बक्यौता रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने लक्ष्य राखिएको छ भने बाँकी रकम पनि दुई महिनाभित्र पूरा गर्ने योजना रहेको उहाँको भनाइ छ ।
डीडीसीको दैनिक झण्डै १ करोड रुपैयाँको कारोबार भइरहेको र सोही अनुसार किसानलाई नियमित भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।
दुग्ध किसानको श्रम र योगदानलाई सम्मान गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले स्पष्ट पारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया