अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

46 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय तथा वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न पूर्वप्रशासक तथा कूटनीतिज्ञहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । साथै, परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्ब हुनुपर्नेमा पनि जोड दिए ।

मन्त्री खनालले विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु संकट तथा प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूको सामना गर्न कूटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको बताए । उनले नेपालले विश्व परिवेशमा हुने परिवर्तनप्रति केवल प्रतिक्रिया जनाउने होइन, त्यसको पूर्वानुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने धारणा राखे ।

संस्थागत सुधारको आवश्यकता औँल्याउँदै उनले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँच विस्तारका लागि परम्परागत शैली त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ । वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ ।’

मन्त्री खनालले नियोगमा पदस्थापनलाई अधिकारको रूपमा मात्रै नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइने स्पष्ट पारे ।

उनले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र झन्झटरहित बनाइने बताए ।