काठमाडौं । नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको सुरुवात हुँदै छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवन जलाइएको थियो ।
मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
नेपाली संसदीय इतिहासमा एउटा ठूलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने बिन्दुमा पुगेको छ । यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो । बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै २४ सै घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन् ।
नव–निर्माणाधीन यस भवनको सबैभन्दा ठूलो आकर्षण यसको माथिल्लो गुम्बज संरचना हो । भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डवल–डेकर फलामे ट्रसको आकर्षक गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ ।
दिउँसोको उज्यालो सिधै छिर्ने गरी पारिएको यो गुम्बज संरचनाले ऊर्जा बचतमा समेत मद्दत गर्ने प्राविधिकहरूको भनाइ छ । राजनीतिक वृत्तमा पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नुलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नै निर्णय क्षमताको प्रतिकका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया