रास्वपाले जेठ १८ गते काठमाडौं महानगर अधिवेशन गर्ने
44
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौं महानगर समितिको अधिवेशन आगामी जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो ।
रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरिसकेको छ । त्यसअघि वडा र पालिका तहको अधिवेशन प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटाको अधिवेशन सम्पन्न भइसकेको छ । महानगर संयोजक शशि पन्त का अनुसार वडा नम्बर २६ को अधिवेशन मात्रै बाँकी रहेको छ ।
उनले सबै वडाको अधिवेशन सकेपछि जेठ १८ गते महानगर समिति चयनका लागि अधिवेशन आयोजना गरिने जानकारी दिए ।
‘महानगरको अधिवेशनको मिति निश्चित गरिसकेका छौं । स्थान आज टुंगो लाग्छ,’ पन्तले बताएका छन् ।
पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको भए पनि काठमाडौं महानगरमा भने शतप्रतिशत वडा अधिवेशन सम्पन्न हुने भएको छ ।
शशि पन्त २०७९ साउनदेखि काठमाडौं महानगर संयोजकको जिम्मेवारीमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया