मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते

91 Shares

बागमती । भिमफेदी गाउँपालिका–६ जुरीखेतस्थित हेटौँडा–काठमाडौँ सडकखण्डमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडी चालक पूर्णबहादुर रुम्बासहित तनहुँ बन्दीपुर नगरपालिका–९ का मनोज गुरुङ र उनकी श्रीमती उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का विकास झा तथा भारतको बिहार राज्य सितामढीका सोनु रौनियार र उनकी श्रीमती सङ्गीता रौनियार घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।