एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलवारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि नगर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।
खाडी क्षेत्रका मित्र राष्ट्रहरूले इरानसँगको सर्वमान्य शान्ति सम्झौताका लागि पहल गरिरहेकाले सैन्य कारबाही रोकिएको उनले बताए ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले भोलिका लागि तय गरेको इरानमाथिको आक्रमण अहिलेलाई स्थगित गरेका छौँ ।
यद्यपि, यदि कुनै स्वीकार्य सम्झौता हुन नसकेको खण्डमा जुनसुकै समयमा पनि पूर्ण र ठूलो स्तरको सैन्य आक्रमणका लागि तयारी अवस्थामा रहन उनले पेन्टागनलाई आदेश दिएका छन् ।
राष्ट्रपति ट्रम्पकाअनुसार हाल इरानसँग ‘गम्भीर वार्ता’ भइरहेको छ र खाडी मुलुकका नेताहरूको विश्वास बमोजिम अमेरिका, मध्यपूर्व र अन्य देशहरूलाई समेत मान्य हुने गरी छिट्टै सम्झौता हुने देखिन्छ ।
यस सम्झौताको सबैभन्दा महत्वपूर्ण पाटो इरानले आणविक हतियार प्राप्त नगर्नु नै रहेको उनले स्पष्ट पारेका छन् । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूको विशेष अनुरोधमा आफूले प्रश्तावित सैन्य आक्रमण रोकेको ट्रम्पले उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया