भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

10 Shares

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो ।

आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिए । सामान्यतया दैनिक करिब दुई हजार ५०० हाराहारी बिरामी आउने गरेमा पछिल्लो समय चाप बढेको उनले बताए ।

सेवाग्राहीको घुइँचो बढेकाले अस्पतालबाट अन्य अस्पतालमा प्रेषण (रिफर) गर्न समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । रत्ननगर–१२ बाट आँखाको उपचारका लागि रिफर माग्न आउनुभएका रामविलास लामिछानेले थप उपचार गर्न अन्य अस्पताल जाँदा रिफर आवश्यक पर्ने भनिएपछि भरतपुर अस्पताल आएकामा भीडका कारण समयमा काम नभएको गुनासो गरे ।

उनले आफू बिहान ८ः०० बजे आउँदा एक हजार २०० नम्बरमा पालो परेको बताए । बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्ने भन्दै लामिछानेले सरोकार भएका सबैको ध्यानाकर्षण गराए ।

भरतपुर–२० चनौलीका नवराज भुसालले आँखाको उपचारका लागि रिफर लिन धेरै समय कुर्नुपरेको गुनासो गरे । भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताए ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताए । उनले भने “ओपिडीको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म हो । टिकट बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पाइन्छ । तर अधिकांश सेवाग्राही बिहानै ५–६ बजेदेखि लाइनमा बस्नुहुन्छ । अस्पताल ५ः०० बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सेवा लिन आग्रह गर्दछौँ ।”

उनका अनुसार बिहानैदेखि सेवाग्राही लाइनमा बस्ने गरेकाले बिहानको समयमा बढी भीड देखिएको हो । ओपिडी सेवा दिनभर सञ्चालन हुने भएकाले सहज रूपमा सेवा लिन सकिने उनले बताए ।

उनले अस्पतालले रिफर गरेर बाहिर पठाउने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको जानकारी दिए । एक–दुई दिनभित्र रिफर सेवालाई व्यवस्थित बनाइने उनको भनाइ छ ।