काठमाडौँ । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखेको भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले उनीहरूको भरोसालाई सम्बोधन गर्न नसकेको बताए ।
उनले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक सङ्कल्प नदेखिएको बताए । उनकाअनुसार नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैन । घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन । उनले आफूलाई नवीन सोचको सरकार बताउने नेतृत्वले ल्याएको दस्ताबेजमा नवीनता र स्पष्टता नरहेको टिप्पणी गरे ।
उनकाअनुसार नीति र कार्यक्रमबीचको भिन्नता समेत स्पष्ट छैन । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पलाई नीति तथा कार्यक्रमबाट हटाएको भन्दै असन्तुष्टि जनाए । देश समृद्ध भएपनि नागरिक सुखी नभए समाजवादको लक्ष्य पूरा नहुने उनको भनाई छ । विगत सरकारका सकारात्मक अभ्यास र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले राम्रा अभ्यासलाई अस्वीकार गर्ने प्रयास गरिएको आरोप लगाए ।
उनले संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेपनि नीति तथा कार्यक्रममा ‘समाजवाद’ शब्द नै उल्लेख नगरिएको बताए । नीति तथा कार्यक्रम संविधानको मौलिक हक र समाजवाद उन्मुख अर्थतन्त्रको मर्मअनुसार नआएको उनको भनाइ छ ।
उनले भनिन् ‘यो सरकारप्रति नेपाली जनताले असाधारण आशा राखेका थिए । जनताले सोचेका थिए, अव शासनको शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ, तर दुखका साथ भन्नुपर्छ सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न सकेन । यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छन्, दृष्टि छैन । घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन् तर कार्यान्वयनको आधार छैन । आफूलाई नवीन सोचको अवतार भनिने सरकारले ल्याएको दस्ताबेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक सङ्कल्प नै देखियो । नीति हो की कार्यक्रम यो पनि स्पष्ट छुट्ट्याएको छैन । नीति के हो, कार्यक्रम के हो, छुट्याउन गाह्रो छ । यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्ताबेज हो । यसको उत्कृष्टता हामी सबैको चाहाना हो । त्यसकारण यसको आलोचना गर्नु विरोधको लागी विरोध होइन । यो राष्ट्रप्रतिको जिम्मेवारी हो । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय सङ्कल्प हो तर यसलाई झिक्नुभएछ । देश समृद्ध त बन्ला तर जनता खुसी र सुखी भएनन् भने समाजवादमा कसरी पुग्न सकिन्छ ? राम्रा अभ्यासलाई समेत अस्वीकार गर्ने प्रयास किन गरियो ? विगत सरकार सकारात्मक प्रयत्नहरूलाई कहीँ कहीँ निरन्तरता दिन खोजेजस्तो त देखिन्छ, तर केही शब्द लिने केही झिक्ने गर्दा त्यसको अनर्थ पनि लागेको छ ।’
तीनखम्बे अर्थनीतिलाई समेत उपेक्षा गरिएको आरोप लगाउँदै उनले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पनि अविश्वसनीय रहेको टिप्पणी गरिन् । उनले कृषि, पर्यटन, जडीबुटी, ऊर्जा र औद्योगिकीकरणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया