प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

15 Shares

काठमाडौं । नवनियुक्त सङ्घीय संसद सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीवार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक समारोहका बीच उनले आफ्नो पदको शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए ।

संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ ।