काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका नेता गणेश पराजुलीले जानकारी दिए ।
यसअघि पार्टी सभापति रवि लामिछानेले महाधिवेशन असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको पराजुलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
महाधिवेशनको तयारी तथा विविध समसामयिक एजेण्डामाथि छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको हो ।
यसअघि रास्वपाले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था थियो ।
२०७९ सालमा स्थापना भएको रास्वपाले पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया