काठमाडौँ । रसिया र युक्रेनबीच बढ्दो तनाव र विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका वा त्यहाँ भ्रमण गर्ने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि एउटा अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
दूतावासले युक्रेनको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको छ ।
दूतावासले कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्ने सोचमा रहेका नेपाली नागरिकहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न अनुरोध गरिएको छ ।
साथै हाल युक्रेनमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सुरक्षित र सकुशल रूपमा यथाशीघ्र नेपाल फर्कन आग्रह गरिएको छ ।
युक्रेनमा रहेका नेपालीहरूलाई कुनै पनि प्रकारको सहयोग वा समन्वय आवश्यक परेमा दूतावासका अधिकारीसँग सिधा सम्पर्क गर्न भनिएको छ ।
सहयोगका लागि मोबाइल/ह्वाट्सएप +49 176 26741207 मा सम्पर्क गर्न सकिनेछ ।
युक्रेनमा रहेका नेपालीहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराउन र दूतावासको नियमित सम्पर्कमा रहन समेत सूचित गरिएको छ । सुरक्षा संवेदनशीलतालाई बुझेर समयमै सुरक्षित कदम चाल्न सरकारले विशेष जोड दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया