जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा हल्का वर्षा पनि हुन सक्ने बताइएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया