रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयोः सुदन किराँती

12 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो टिप्पणी गरेका हुन् । सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए ।

उनले पार्टीहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरे । मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारे । उनले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समय समेत नदिइएको आरोप लगाए । ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ । मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ। त्यस्तो स्थितिमा हामी थियौँ ।पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन’ उनले भने ।

किराँतीले अबको राजनीतिक बाटो ‘प्रकृति, संस्कृति र प्रविधि’ को समायोजन हुनुपर्नेमा जोड दिए । पुँजीको विकास नगरी देश समृद्ध नहुने उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीले यही दर्शनलाई बोकेर अघि बढ्ने बताए ।