नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

11 Shares

काठमाडौँ । नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनिहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो । त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ ।

साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा हुन् । नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गरेको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिए ।

उनकाअनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गरेका छन् ।

अध्यक्ष बाँसकोटाले नातीकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रुपमा मात्रै होइन, सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गरेको उल्लेख गरे ।

“उहाँका गीतमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको अद्भूत संयोजन पाइन्छ, उनको योगदानले नेपाली सङ्गीतलाई उच्च स्थानमा पुराएको छ”, अध्यक्ष बासकोटाले भने ।