युद्धविराम तोड्दै अमेरिकी सेनाकाे इरानमाथि बमबारी

43 Shares

एजेन्सी । अमेरिकी सेनाले बिहीबार होर्मुज स्ट्रेट नजिक इरानी सैन्य अखडामाथि एयरस्ट्राइक गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) ले अमेरिकी युद्धपोतहरूमाथि मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण भएपछि उक्त कारबाही गरिएको दावी गरेकाे हाे । सेन्टकोमले होर्मुज स्ट्रेट हुँदै गइरहेका अमेरिकी युद्धपोतहरूमाथि उक्साहटपूर्ण हमला भएको जिकिर गरेको छ। अमेरिकी सेनाले सबै आक्रमण निष्क्रिय पारेपछि जवाफी कारबाहीस्वरूप मिसाइल र ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर तथा निगरानी प्रणालीलाई निशाना बनाएको जनाएको हाे।

अमेरिकी सेनाले आफूले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सैन्य सम्पत्तिको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारेको छ। यता, इरानी सेनाका प्रवक्ताले अमेरिकी एयरस्ट्राइकमा सर्वसाधारण बसोबास गर्ने क्षेत्रलाई समेत निशाना बनाइएको आरोप लगाएका छन्। इरानले यसलाई युद्धविरामको भावनाविपरीत भएको जनाएकाे हाे। रिपोर्ट अनुसार होर्मुज क्षेत्र तथा केही बन्दरगाह आसपास विस्फोटका आवाज सुनिएका थिए। तर क्षति र हताहतकाे बारेमा दुवै देशले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

साथै होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच भएको सैन्य झडपपछि विश्व तेल बजारमा ठूलो उछाल आएको छ। ब्रेन्ट क्रुडको मूल्य ७ दशमलव ५ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १०३ दशमलव ७० डलर पुगेको थियो। पछि एशियाली बजार खुल्दा केही नरम भई मूल्य १०१ दशमलव १२ डलर प्रतिब्यारेलमा कायम रहेकाे थियाे ।

याेसँगै शुक्रबार अमेरिकी तेलको मूल्य पनि बढेको छ। डब्लुटीआई २ दशमलव५८ प्रतिशत अर्थात् २ दशमलव ४५ डलरले बढेर प्रतिब्यारेल ९७ दशमलव २६ डलर पुगेको हाे।