काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको विषयबारे स्पष्ट पारेको छ ।
बुधबार प्रेस नोट जारी गर्दै जंगी अड्डाले वर्षायाममा हुनसक्ने बाढी, पहिरो, डुबान र नदी कटानजस्ता विपद् जोखिमलाई ध्यानमा राख्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि विवरण संकलन गरिएको जनाएको हो ।
सेनाका अनुसार यस कार्यको उद्देश्य विपद् व्यवस्थापनका लागि जोखिम नक्साङ्कन अद्यावधिक गर्नु र उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहज बनाउनु हो ।
हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सेनाले सुकुमवासीको विवरण माग गरेको भनेर आएको समाचारप्रति प्रतिक्रिया दिँदै सेनाले यसलाई सामान्य विपद् पूर्वतयारी तथा समन्वयात्मक अभ्यासका रूपमा लिन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “स्थानीय युनिटहरूले सम्भावित विपद् घटनामा सुरक्षा फौज तैनाथ भई उद्धार तथा राहत कार्य सहज बनाउन तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया