सरकारले दुई तिहाई जनमतको अपमान गर्‍योः नेकपा

11 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश सिफारिस गरेर जनमतको अपमान गरेको आरोप लगाएका छन् ।

बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले पाँचवटा अध्यादेश ल्याएर झन्डै दुई तिहाई जनमतको दुरुपयोग गरेको टिप्पणी गरे ।

दुलालका अनुसार संसदमार्फत एक हप्तादेखि १० दिनभित्र विधेयक पारित गर्न सक्ने बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्न खोज्नु असंवैधानिक हो ।

उनले भने, “संसदको बजेट अधिवेशनजस्तो महत्वपूर्ण समयमा पाँच–पाँच वटा अध्यादेश ल्याउनु जनमतको अपमान हो । एक हप्तादेखि १० दिनमै विधेयक पारित गर्न सकिने अवस्थामा पनि अध्यादेश ल्याउनु गलत हो ।”

दुलालले व्यवस्थापिकाको अधिकार क्षेत्र मिचेर अध्यादेशमार्फत ऐन निर्माण गर्न खोज्नु संसदीय प्रणालीमाथिको हस्तक्षेप भएको जिकिर गर्दै सरकारले जनमतको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।