काठमाडौंमा सरकारले अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। अभियानअन्तर्गत शनिबार काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा बस्ती खाली गरिएका छन्।
महानगरपालिका–११ थापाथलीस्थित बागमती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामंगल क्षेत्र र वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती हटाइएको हो। सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी संरचनाहरू डोजर प्रयोग गरेर भत्काइएको महानगर प्रहरी बलले जनाएको छ।
महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले हटाउने काम छिटो सम्पन्न भएको थियो। तर गैरीगाउँ–सिनामंगल क्षेत्रमा पक्की घरको संख्या बढी भएकाले काम रातिसम्म लम्बिएको थियो।
सरकारको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोलीले प्रभावित बासिन्दालाई सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेपछि मात्र संरचना हटाउने काम गरिएको थियो।
यसैबीच, मनोहरा (भक्तपुर) स्थित सुकुम्बासी बस्तीमा आइतबार बिहानैदेखि डोजर चलाइएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा बस्ती हटाउने कार्य अघि बढाइएको हो।
प्रहरीले क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाएपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन्। वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरू आफ्नो टहरो भत्काइएपछि सामान र गाईवस्तु सुरक्षित स्थानतर्फ सार्न बाध्य भएका छन्। केही स्थानीयले डोजर रोक्न प्रयास गरे पनि ठूलो संख्यामा परिचालित प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो।
हाल बस्ती क्षेत्रमा संरचना भत्काउने काम जारी रहेको छ भने विस्थापितहरू सडक किनारमा आफ्ना सरसामान राख्न बाध्य भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया