एलडीसीबाट स्तरोन्नतिपछि औषधि र खोप महँगिन सक्ने खतरा: महानिर्देशक बस्नेत

35 Shares

काठमाडौँमा आयोजित एक कार्यक्रममा उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताएका छन्।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा बोल्दै उनले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने बताए। उनका अनुसार यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्नेछ।

हाल नेपालले अल्पविकसित राष्ट्रको रूपमा औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिई उत्पादन गर्न पाउने सुविधा उपभोग गरिरहेको छ। तर स्तरोन्नतिपछि भने प्याटेन्ट भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने अवस्था आउनेछ, जसका कारण नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य बढ्नसक्ने उनले बताए।

बस्नेतका अनुसार औषधि र खोपको मूल्य वृद्धि हुँदा निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरू प्रत्यक्ष प्रभावित हुनेछन्। व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा कर प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता आउन सक्ने उनको भनाइ छ।

उनले भारत तथा अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्रजुएसनपछि नपाउने स्थिति रहने उल्लेख गरे।

महानिर्देशक बस्नेतले यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा समेत देखिने बताए। उनले सम्भावित जोखिमलाई सम्बोधन गर्न सरकारले समयमै ठोस रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।