काठमाडाैं । हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।
दिउँसो देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यता, मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तातो बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया