काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल ले नेपालमा कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नै आँखाअगाडि कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले आन्दोलनलाई पुनः माथि उठाउन नयाँ शिराबाट काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
यसका लागि कम्युनिष्ट पार्टीहरूले आफ्ना कमी–कमजोरीबारे गम्भीर समीक्षा तथा आत्ममूल्यांकन गर्नुपर्ने उहाँको भनाइ थियो।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिलाई ठूलो धक्का पुगेको भन्दै उहाँले त्यसको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने बताउनुभयो। राजनीतिक जीवनमा उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै उहाँले पराजयलाई सहज रूपमा लिनुपर्ने धारणा राख्नुभयो। निर्वाचनमा हार्दैमा आत्तिनेहरूले सफलता हासिल गर्न नसक्ने भन्दै उहाँले नयाँ ऊर्जा र दृष्टिकोणसहित पुनः अघि बढ्न कार्यकर्तालाई आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ। यसपटकको निर्वाचनमा अप्रत्याशित परिणाम सामना गर्नुपरेको छ, ठूलो धक्का खानु परेको छ। यसको हामीले विश्लेषण गर्ने कि नगर्ने? हाम्रो कमजोरीबारे छलफल चलाउने कि नचलाउने? हाम्रा कमी–कमजोरीहरूको खुला छलफल गर्नुपर्ने आवश्यकता छ।
राजनीतिक जीवनमा उकालो–ओरालो आउँछ, यसलाई सबैले आत्मसात् गर्नुपर्छ। कहिले सफलता, कहिले पराजय हुन्छ। पराजय हुनेबित्तिकै आत्तिनेहरूले जीत हासिल गर्न सक्दैनन्। त्यसैले जीतका लागि फेरि नयाँ शिराबाट उठेर अगाडि बढ्नुपर्छ।”
उहाँले Chinese Communist Party र विश्व कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न उतारचढाव आएको स्मरण गर्नुभयो। धरापमा परेको चिनियाँ कम्युनिष्ट पार्टीलाई Mao Zedong ले पुनर्जीवित गरेको उदाहरण दिँदै नेपालमा पनि कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया