काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले विदेश जानुअघि भने अनुमति लिनुपर्ने शर्त पनि राखेको छ ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता खड्काका तर्फबाट उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै रिहाइको माग गरिएको थियो, जसअनुसार सर्वोच्चले आदेश दिएको हो ।
यसअघि बुधबार पनि उक्त रिटमा सुनुवाइ भएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले अनुसन्धान फाइल झिकाउन र अर्को दिनका लागि पेसी तोक्न आदेश दिएको थियो । साथै, राजस्व अनुसन्धान विभागलाई लिखित जवाफ र अनुसन्धान फाइल पेश गर्न निर्देशन दिइएको थियो ।
खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत चैत १५ गते पक्राउ गरेको थियो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको भए पनि फाइल विभिन्न निकायबीच साटासाट भएपछि अनुसन्धान प्रक्रिया जटिल बनेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया