काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीवार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को वैठकलाई सम्बोधन गर्दै उनले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पारे ।
उनकाअनुसार बाहिर केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका व्यक्त भइरहेका छन्, तर त्यो धारणा सही नभएको उनले बताए ।
अर्थमन्त्री वाग्लेले चित्त नबुझेका विषयहरू संविधानभित्रै रहेका प्रावधानअनुसार संशोधन गरिने नीति रहेको उल्लेख गरे । ‘संविधानप्रति अहिलेको सरकार पूर्ण बफदारी छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गछौँ । चित्त नबुझेका कुराहरु संविधानमै लेखेका धाराहरुमा टेकेर सुधार गर्ने रास्वपाको घोषित नीति छ । यति मैले भन्न आवश्यक ठाने । किनकी बाहिर संविधान नै फाल्छन् की प्रचण्ड बहुमत छ भन्ने छ’ उनले भने ।
उनले नेपालको संविधान धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र नेपालको संविधान धारा २७५ ले जनमतसंग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको बताए । यी दुवै संवैधानिक खुड्किलामै टेकेर वर्तमान सरकार अघि बढ्ने उनको भनाइ छ ।
उनले संघीय संरचना, प्रदेश सरकार, स्थानीय तहको संख्या, आकार तथा क्षमताजस्ता विषयमा पनि संविधानको फ्रेमभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पारे । ‘धारा २७४ ले संविधान संशोधनको विधि तय गरिदिएको छ । धारा २७५ ले जनमत संग्रह लगायतका विषयहरुलाई सम्बोधन गरेको छ । दुवै खुड्किलामै टेकेर हामी अघि जाने हो । अहिलेको संघीय ढाँचा प्रदेशिक संरचना स्थानीय सरकारहरु संख्या आकार उनीहरुको ल्याकत यी सबैको बारमा पनि हामी संविधार फ्रेम बाहिर गएर केही गदैनौँ’ उनले भने ।
सरकारले संवैधानिक सीमाभित्रै रहेर आवश्यक सुधार र परिमार्जन गर्दै जाने नीति लिएको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया