साना व्यवसायीका समस्या समाधान गर्न अर्थमन्त्रीसँग महासंघको ध्यानाकर्षण

44 Shares

काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ।

मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीहरूले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो। महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेको भन्दै अहिले व्यवसाय उक्सिने स्थितिमा नरहेको बताउनुभयो। यद्यपि नयाँ सरकार गठनपछि व्यवसायीहरूमा केही आशा भने जागेको उहाँको भनाइ छ।

उहाँका अनुसार अहिलेको अवस्था उत्साहजनक नभए पनि व्यवसायीहरू सामान्य जीविकोपार्जनमै सीमित छन्। देशभरका व्यवसायीलाई प्रभावित बनाएको एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी विषयमा पनि अर्थमन्त्रीसँग छलफल गरिएको छ। मौज्दात स्टक तथा उत्पादित वस्तुमा उपभोक्तालाई सहज हुनेगरी एमआरपी व्यवस्थापन गर्न सुझाव दिइएको महासंघले जनाएको छ।

त्यस्तै, घरभाडा नीति स्पष्ट नभएको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा निर्धारण गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ।

महासंघले साना व्यवसायीलाई राहत दिन बैंक तथा वित्तीय संस्थाबाट ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउन माग गरेको छ। साथै भन्सार नाकामा आयात–निर्यातका क्रममा हुने झन्झटिलो प्रक्रिया र दररेट सम्बन्धी समस्याहरू समाधान गर्न पनि ध्यानाकर्षण गराइएको छ।

पञ्चायतकालदेखि सीमित संगठनहरूको मात्र आर्थिक नीतिनिर्माणमा वर्चस्व रहेको भन्दै अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरिएको छ। यस विषयमा अर्थमन्त्री वाग्लेले सबैलाई सहभागी गराइने भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको महासंघले जनाएको छ।

महासंघको टोलीले अर्थ मन्त्रालयमा करिब एक घण्टा छलफल गरेको थियो। विगतका सरकारहरूले साना व्यवसायीका मुद्दा उपेक्षा गरेको गुनासो गर्दै अध्यक्ष कटुवालले यसपटकको भेट सकारात्मक रहेको बताउनुभयो। अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने आश्वासन दिनुभएको छ।