घुससहित वैदेशिक रोजगार विभागका नायब सुब्बा पक्राउ

126 Shares

काठमाडौँ ।
वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

मनाङीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिन भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरी परेपछि कारबाही अघि बढाइएको थियो।

सोही उजुरीका आधारमा उनलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनको साथबाट थप ७७ हजार ६०० रुपैयाँ स्रोत नखुलेको रकम समेत बरामद भएको छ। पक्राउ परेका मनाङीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।