सुडानमा विवाह समारोहमा ड्रोन आक्रमण, करिब ३० जनाको मृत्यु

149 Shares

एजेन्सी — सुडानको उत्तर डार्फरस्थित कुतुम क्षेत्रमा विवाह समारोहमा भएको ड्रोन आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ। मृतकमध्ये महिला र बालबालिका पनि रहेको जनाइएको छ।

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफन दुजारिकले उक्त जानकारी दिएका हुन्।

सुडानी सेना र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच जारी द्वन्द्वका बीच यो आक्रमण भएको हो। पछिल्ला तीन वर्षदेखि दुवै पक्षले एकअर्कालाई दोषारोपण गर्दै आएका छन्, जसका कारण सुडानमा हिंसा झन् चर्किँदै गएको छ।

स्थानीय मानवअधिकार संगठन ‘इमर्जेन्सी ल’यर्स’ र ‘रेजिस्टेन्स कमिटीहरू’ ले सामाजिक सञ्जालमार्फत यस आक्रमणको जिम्मेवारी सुडानी सशस्त्र बलले लिएको दाबी गरेका छन्।

संयुक्त राष्ट्र संघका अनुसार सन् २०२३ अप्रिलदेखि सुरु भएको युद्धमा हालसम्म ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। तर राहत एजेन्सीहरूले वास्तविक संख्या अझै धेरै हुन सक्ने बताएका छन्।