राप्रपाको उपसभामुख उम्मेदवारीबारे ज्ञानबहादुर शाहीको खुलासा

130 Shares

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुख पदमा उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेता शाहीले उपसभामुखको उम्मेदवारीले संसदभित्र पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दाबी गर्नुभयो।

उहाँका अनुसार रास्वपाको व्यवहारले नयाँ र पुराना दलहरूबीच साइनबोर्ड मात्र फरक भए पनि नीतिगत रूपमा उस्तै रहेको पुष्टि भएको टिप्पणी गर्नुभयो।

त्यसैगरी, उहाँले उपसभामुख पदका लागि दिइएको उम्मेदवारी केवल पदका लागि मात्र नभई आयातित व्यवस्था मान्ने र विदेशी प्रभावमा चल्ने प्रवृत्तिविरुद्धको संघर्ष भएको पनि उल्लेख गर्नुभयो।

राप्रपाका तर्फबाट सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको थियो, जुन रवि लामिछानेको ‘ग्रीन सिग्नल’ पछि दर्ता गरिएको बताइएको छ।