गुराँसले ढकमक्क मुन्दुम पदमार्ग, वसन्तमा भोजपुर पर्यटकले भरिभराउ

114 Shares

भोजपुर । वसन्त ऋतुको आगमनसँगै भोजपुर का वन–जङ्गल यतिबेला गुराँसले राताम्य बनेका छन् । विशेषगरी मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।

पदमार्गका जङ्गलहरू अहिले रातो, गुलाबी र सेतो गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । हरिया बनजङ्गलमाथि गुराँसको रङ मिसिँदा देखिने दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आकर्षित गरिरहेको छ । प्रकृतिप्रेमी, फोटोग्राफर तथा पदयात्राका पारखीहरूका लागि यो क्षेत्र यतिबेला विशेष गन्तव्य बनेको छ ।

मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’सँग जोडिएको यो क्षेत्रले स्थानीय जीवनशैलीको स्पष्ट झल्को दिन्छ । पदयात्राका क्रममा स्थानीय भाषा, वेशभूषा र परम्परागत संस्कार नजिकबाट अनुभव गर्न सकिन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहाल का अनुसार यी विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले अहिले आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको सरोज बस्नेत ले बताए । उनका अनुसार पर्यटकलाई लक्षित गर्दै चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सव आयोजना गरिएको छ ।

यस पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङमैयुङडाँडा जस्ता स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । यहाँबाट देखिने हिमाली दृश्य, धार्मिक महत्व र शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।

स्थानीय होटल तथा होमस्टे व्यवसायी विवेक कुलुङ का अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिएको छ ।

पछिल्लो समय पदमार्गमा पूर्वाधार विकास पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण र सूचना बोर्ड स्थापनाले यात्रालाई सहज बनाएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राई ले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताइन् ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाको संगम बनेको मुन्दुम पदमार्ग यतिबेला गुराँसले ढकमक्क ढाकिँदै अझ आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । वसन्त ऋतुमा यहाँ पुग्ने जो कोहीका लागि यो यात्रा अविस्मरणीय अनुभव बन्ने स्थानीयको भनाइ छ ।