पोखरामा बीच सडकमै महिलाको हत्या, अज्ञात अभियुक्त फरार

121 Shares

काठमाडौं — पोखरामा बुधवार साँझ करिब ७ बजे एक महिलाको बीच सडकमै विभत्स हत्या भएको छ।

सिर्जना पौडेल केसी नाम गरेकी ती महिलामाथि अज्ञात व्यक्तिले टाउकोमा घातक प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटना साँझ ७ः०८ बजेको समयमा भएको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि सिर्जना सडकको बीचमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन्। घटनास्थलमा पुगेका स्थानीयका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो र अवस्था अत्यन्तै संवेदनशील देखिएको थियो।

एक स्थानीयले भने, “म पुग्दा उनी घोप्टो परेकी थिइन्, अनुहार देख्न सकिएन। टाउकोबाट धेरै रगत बगिरहेको थियो। हेर्दा धड्कन अलिअलि चलिरहेको जस्तो लाग्यो, तर बोल्न सक्ने अवस्थामा थिइनन्।”

घटनापछि स्थानीयवासी र नजिकैका व्यवसायीले प्रहरीलाई खबर गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार प्रहरी घटनास्थलमा पुग्दासम्म उनको मृत्यु भइसकेको अनुमान गरिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने फरार अभियुक्तको खोजी कार्य तीव्र बनाइएको जनाएको छ।