शिशिर खनाल हिन्द महासागर सम्मेलनमा सहभागी हुन मरिसस प्रस्थान

114 Shares

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल एस जयशङ्कर को निमन्त्रणामा मरिससको राजधानी लुइस मा भोलिदेखि सुरु हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा आयोजना हुने उक्त सम्मेलन यही चैत २७ र २८ गते मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसन ले आयोजना गर्न लागेको हो।

सम्मेलनमा मन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वबारे नेपालको दृष्टिकोण राख्ने परराष्ट्र मन्त्रालय ले जनाएको छ।

सम्मेलनका क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। उनी यही चैत ३० गते स्वदेश फर्किने छन्।