काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतिय चुरोट (भेप) प्रयोग गरेर गरिएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २३ भन्दा बढी व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक पदमा रहँदा महराले विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई दबाब दिँदै भेप छुटाउन पहल गरेका थिए। यस प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूमाथि करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा अदालतमा पेश गरेको जनाएको छ।
२०७९ माघमा एक चिनियाँ नागरिकले ७३० वटा भेपभित्र लुकाएर करिब ९ किलो सुन नेपाल भित्र्याएका थिए। उक्त सुन भन्सार जाँचका क्रममा नियन्त्रणमा लिइए पनि पछि चोरी भएको र तस्करी सञ्जालको संलग्नता क्रमशः खुल्दै गएको थियो।
अनुसन्धानका क्रममा महरा बाबुछोराले भन्सार कर्मचारीसँग पटक–पटक सम्पर्क गरी सामान छुटाउन दबाब दिएको तथ्य पनि खुलेको छ। उच्च तहका व्यक्तिको संलग्नता देखिएपछि घटनामा थप कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया