चुरे संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन, सरकारलाई दबाब

101 Shares

काठमाडाैं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल ले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघर मण्डला मा प्रदर्शन गरेको छ।

वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्न, सिर्सिया नदी मा बढ्दो प्रदूषण तथा अतिक्रमण नियन्त्रण गर्न तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन्। प्रदर्शनका क्रममा “जनताको सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द?” र “राष्ट्रको समस्या कहिले देख्छौ सरकार?” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएका थिए।

सिंहदरबार भित्र ज्ञापनपत्र बुझाउने प्रयाससमेत गरिएको अभियानले जनाएको छ। प्रदर्शनकारीहरूका अनुसार वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित तथा सुकुम्बासीहरूको समस्या समाधानतर्फ सरकार उदासीन देखिएको छ।

प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले वातावरणीय संकट बढाइरहेको भन्दै अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।