एमाले सचिवालय बैठक आज : बादलको अभिव्यक्तिमाथि गम्भीर छलफल हुने

120 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले बिहीबारको प्रतिनिधिसभा बैठकमा गरेको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।

उपाध्यक्ष विष्णु पौडेल ले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे ‘गम्भीरतापूर्वक’ छलफल हुने जानकारी दिएका छन्। कार्यवाहक अध्यक्षसमेत रहेका थापाले भदौ २३–२४ को जनआन्दोलन तथा फागुन २१ को चुनावको परिणामलाई षड्यन्त्र र विभिन्न निकायको मिलेमतोसँग जोड्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले नेपाली सेना, कर्मचारीतन्त्रदेखि विदेशी निकायहरूसम्मलाई आरोप लगाउने किसिमका अभिव्यक्ति दिएको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।

यसैबीच एमालेका नेता सुरेन्द्र पाण्डे ले सो परिस्थितिको जिम्मेवारीमा पार्टी स्वयं पनि रहेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अरूलाई दोष देखाउने राजनीति पुरानो भइसकेको’ उल्लेख गर्दै एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यताले यस्तो अवस्था सिर्जना भएको बताएका छन्।

उनले ‘घेराबन्दी’मा परेको भन्ने राष्ट्रवादी राजनीति पुरानो भइसकेको टिप्पणी गर्दै अबको मुख्य एजेन्डा आर्थिक सुधार हुनुपर्ने बताएका छन्। साथै, आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतर्फ धकेल्ने काम नगर्न समेत आग्रह गरेका छन्।

भदौ २३–२४ का घटनाको छानबिन हुनुपर्ने उल्लेख गर्दै उनले वर्तमान राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने धारणा राखेका छन्।